काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ‘ब्रिफिङ’ लिएका छन् ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसहित काठमाण्डु प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त–दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । ‘पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी छ, सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ मन्त्री अर्यालले भने ।
यसअघि पनि एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरिसकेको छ ।
क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए । खड्काले भने, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’




प्रतिक्रिया