निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं : मन्त्री अर्याल

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं : मन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१ गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दाबी गरेका छन् ।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनुपर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताए ।

उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन भन्ने आशंकाहरू छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरू नआएको होइन, आइराखेकै छन् । चुनावको वातावरण बन्नेतर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलीय नभएर यो गैरदलीय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनुपर्ने दायित्व छ ।’

धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको उनले बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धी प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे ।

‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धी प्रोटोकलले भन्न मिल्दैन । धेरै जस्तो हतियारहरू फिर्ता भइसकेका छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ,’ उनले भने ।

फरार कैदीमध्ये गम्भीर अपराधमा संलग्नहरूको संख्या कम भएकाले हतियार र कैदीबन्दीकै कारणले चुनाव बिथोलिन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे । ‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरूको संख्या अलि कम नै छ । लागू औषधि र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदीबन्दीकै कारणले चुनाव बिथोलिन्छ भन्ने पक्षमा हामी छैनौं,’ उनले भने ।