गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा मंगलवार भएको भेटमा उनीहरूबिच नेपाल–भारतको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ ।

आईतबार नेपाल आएका महावर र गृहमन्त्री अर्यालबिच आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका लागि आवश्यक पर्ने स्रोतसाधन र सुरक्षा निकायलाई आवश्यक पर्ने बन्दोबस्त सामग्रीका सुनिश्चितता गर्नेबारे पनि अतिरिक्त सचिव महावरले व्यक्त गरे ।

भेटमा अतिरिक्त सचिव महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपद्बाट क्षति भएका संरचनाहरूको पुन:स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकीको निर्माण र नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न सघाउने समेत विचार उनले राखे । भेटमा अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो समेत दिएका छन् ।

भेटकै क्रममा गृहमन्त्री मन्त्री अर्यालले दोधाराचाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको कामलाई पनि तीव्रता दिनुपर्नेमा चासो व्यक्त गरे ।

भेटमा गृहमन्त्री अर्यालले अहिलेको सरकार सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह र जनताको अमन चयन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताए । सीमा क्षेत्रमा हुने अपराध, चोरी डकैती, अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टहरूमा सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

भेटमा मन्त्री अर्यालले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानको निर्माण कार्यलाई दुवै पक्षबाट तीव्रता दिनुपर्ने विचार व्यक्त गरेका छन् ।