– उदयसिंह श्रेष्ठ
नेपालगन्ज – सोमबारदेखि नगर मात्र नभएर मुलुकभर पत्रकारको किर्ते हस्ताक्षरको विषयमा आ–आफ्ना धारणा राख्नुका साथै विभिन्न खाले नकारात्मक टिकाटिप्पणी शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ३० गते ‘मिडियाहरुको दिगो विकास र चुनौति’ विषयक कार्यक्रममा पत्रकारहरुको किर्ते हस्ताक्षर भएको प्रमाण सार्वजनिक भएपछि अहिले सबै तह तप्काको ध्यान केन्द्रित हुन पुगेको छ ।
सोमबार केही अनलाइन समाचारले किर्ते हस्ताक्षर भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी सकेको कुरा बाहिर आयो भने समाचार बाहिर आएपछि नेपाल पत्रकार महासंघ, बाँके शाखाले अख्तियारमा उजुरी नै नपरेको कुरा मंगलबार विज्ञप्ती मार्फत सार्वजनिक ग¥यो ।
कसको विश्वास गर्ने ?
करिब ४–५ वटा अनलाईन समाचारमा उजुरी परिसकेको समाचार सार्वजनिक हुनु र नेपाल पत्रकार महासंघ, बाँके शाखाले उजुरी नपरेको भनाई प्रेस विज्ञप्तीमार्फत बाहिर आएपछि यहाँ धेरै पाठकहरु कसको विश्वास गर्ने भनी अन्यौलमा परेको बताएका छन् । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार साँझ ६;१३ बजे किर्ते हस्ताक्षर भएको विषयमा उजुरी परेको ठोकुवाका साथ स्रोतले दाबी गरेको छ ।
सोमबार साँझ अख्तियारमा परेको उजुरीमा नेपाल पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, उपाध्यक्ष प्रदीप वाग्ले, सचिव तिलक गाउँले र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ, बाँके शाखाका पुर्व सभापति शुक्रऋषि चौलागाई विरुद्ध उजुरी परेको स्रोतले ठोकुवा गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा ५१ जनालाई सहभागी गराई किर्ते हस्ताक्षर गरी पैसा बुझिएको छ भने नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल र नेपाल पत्रकार महासंघका केन्द्रिय पुर्व अध्यक्ष धमेन्द्र झा लगायत अधिकांश पत्रकारहरुको किर्ते हस्ताक्षर गरी रकम बुझिएको छ । किर्ते हस्ताक्षर गरी रकम बुझिलिइएको भरपाईमा नेपाल पत्रकार महासंघ, बाँके शाखाको छाप र दुई वटा हस्ताक्षर गरिएको छ ।
सोमबारदेखि दैनिक रुपमा किर्ते हस्ताक्षरको विषयमा विभिन्न पत्रपत्रिका लगायत अनलाईनमा समाचार आएलगत्तै बुधबार नेपाल पत्रकार महासंघ, बाँके शाखाले सडकमैं (वीपी चोक) पत्रकार सम्मेलन गरी सम्पूर्ण दोष प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईमाथि थुपारेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले सडकमैं पत्रकार सम्मेलन गरी प्रेस सल्लाहकार चौलागाईमाथि दोष थुपारेको विषयमा चौलागाई भन्नुहुन्छ–‘जे भयो, जे गरियो सबैका लागि दुखद हो ।’ यस विषयमा छिट्टै नै केही तथ्यका साथ प्रमाण सार्वजनिक गर्ने समेत बताउनु भएको छ ।
प्रमाण भए तत्काल कारवाही गर्छु भन्ने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले भने प्रमाण सार्वजनिक भइसकेको अवस्थामा मौन ब्रतमा बसे झैं चुपचाप बस्नु भएको छ । यसैगरी किर्ते हस्ताक्षरको विषयमा पत्रकार जयसिंह केसीले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्षलाई छानबिन गर्नको लागि उजुरी निवेदन समेत दर्ता गराउनु भएको बताइएको छ भने केन्द्रबाट छानबिन टोली नै गठन हुने बताइएको छ ।




प्रतिक्रिया