काठमाण्डु – दशैंमा काठमाण्डु उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सोमबार बिहानैदेखि दशैंमा घर जान इच्छुक व्यक्तिहरु टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् ।
उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको छ । उपत्यकाका विभिन्न १४ स्थानबाट अग्रिम टिकट काट्न सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
गत बिहीबार यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
केहि यातायात व्यवसायीहरुले भने अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमार्फत अनलाइन टिकट काट्न सकिन्छ । सरकारले दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ समेत थप गरेको छ ।
प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।
काठमाण्डु महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।




प्रतिक्रिया