पूर्व माओवादीबाट खुलेको ‘फायर’: ओलीको राजीनामा मात्रै एकमात्र समाधान


काठमाण्डु – केही महिना अघिसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादी खेमाभित्रै संकटबाट गुज्रिरहेका थिए । अत्यन्तै विश्वासपात्र मानिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेरै लागे, ओलीको राजीनामा माग्न नहुने भन्दै प्रचण्डको आलोचना गर्न थाले ।

पूर्व माओवादी खेमाकै नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत सरकारमा भएका कारण ओलीतिरै ढल्किन्थे । प्रचण्डले बोलाएको पूर्व माओवादी पक्षको भेलामा बादल कमै सहभागी हुन्थे ।

पछिल्लो मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि पूर्व माओवादीका केही नेताहरू ओली पक्षमा लागेका थिए । प्रचण्डको ‘स्प्रिड’ विपरीत बोल्ने र हिँड्ने गरेपछि प्रचण्ड पूर्व माओवादीभित्रै संकटमा परेका अनुमान गरिन्थ्यो । तर प्रचण्डबाट दायाँबायाँ भएर राजनीति सम्भव नभएको देखिएपछि पूर्व माओवादी समूह एकजुट हुँदै गएको छ ।

स्थायी कमिटीको निर्णय विपरीत प्रचण्डको सहमति विना नै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि चर्किएको विवादमा धेरै पूर्व माओवादी नेताहरू प्रचण्डको पक्षमा उभिएका छन् । ओली सरकारमा सहभागी हुँदाहुँदै पनि गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले ‘ओली ठीक’ भनेर वकालत गर्न सकेका छैनन् । ओलीसँग हिमचिम बढाएका भनिएका कतिपय नेताहरूले खुलेरै ओलीको राजीनामा माग्न थालेका छन् ।

पूर्व माओवादी पक्षीय नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने बताए । रिपोर्टस् क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै पौडेलले भने, ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन । पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्छ । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्छ ।’

ओलीसँगै सरकारमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समेत ओलीको खुलेरै विरोध गरे । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै मन्त्री पुनले आफूसँग विमति राख्ने मन्त्रीसँग प्रधानमन्त्री ओलीले पूर्वाग्रह साँधेको आरोप लगाए । ‘उहाँको समर्थनमा बसेका मन्त्रीहरूसँग निकटताजस्तो, पार्टी भित्रका बहसमा विमति राख्दा अलि टाढाको देखेजस्तो । अलि असहयोग गरेजस्तो देखिन्छ । कोही विमति राख्ने होलान्, कोही सहमत हुने होलान् । सबैलाई लिएर जाने काम पार्टी अध्यक्षको हो,’ उनले भने ।

ओलीले सचिवालय बैठकमा पेश गरेको लिखित जवाफमाथि प्रतिक्रिया जनाउँदै मन्त्री पुनले भने, ‘पूर्व माओवादी र पूर्व एमाले भनेर कित्ताकाट गर्ने गरी आएको छ । पूर्व माओवादीमा पनि प्रचण्ड र अरु नेतालाई अलग गर्ने खालको रणनैतिक रूपले कित्ताकाट गर्ने र प्रचण्डलाई प्रहार गर्ने हिसाबले प्रतिवेदन आएको छ । त्यो बेठीक छ ।’

पछिल्लो समय प्रचण्डले पूर्व माओवादी खेमाका नेताहरूसँग छलफल र परामर्श समेत बढाएका छन् । सचिवालय बैठकअघि प्रचण्डले नेताहरू जनार्दन शर्मा, हरिबोल गजुरेल र टोपबहादुर रायमाझी लगायतसँग परामर्श गर्न छुटाउँदैनन् । प्रचण्डले आफूहरूसँग परामर्श नै नगरेको भन्दै गजुरेल र रायमाझी केही समय असन्तुष्ट बनेका थिए । पूर्वमन्त्री तथा नेता जनार्दन शर्मा पनि स्थायी कमिटीको निर्णय कार्यान्वयन नगरेपछि ओलीसँग असन्तुष्ट छन् ।

पूर्व माओवादी पक्ष ओलीको कार्यशैलीविरुद्ध एकजुट रहेका बेला पूर्व एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षले प्रचण्डलाई साथ दिइरहेका छन् । त्यही भएर ओलीले पार्टीमा बहुमतको निर्णय नमान्ने र बहुमतको खेल खेल्न नहुने अडान लिँदै आएका छन् ।

नेकपाभित्र ओलीइतरको समूहले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा अध्यक्ष पदमध्ये एक पदबाट राजीनामा दिनुपर्ने मागलाई जबरजस्त रूपमा उठाएको छ । ओलीले भने आफ्ना दुवै पद जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् । दुवै पक्षबीच चलिरहेको शक्ति संघर्षबीच राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय छिन् । भोलि शनिबार दिउँसो १ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement