‘अपरेशन सिन्दूर’लाई भारतले अन्तर्राष्ट्रियकरण गर्दै

‘अपरेशन सिन्दूर’लाई भारतले अन्तर्राष्ट्रियकरण गर्दै

बनायो सात सांसदको टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत सरकारले सबै दलका सांसदहरूको ७ टोली बनाएर विश्वलाई अपरेशन सिन्दूरबारे जानकारी गराउने भएको छ । प्रत्येक टोलीमा ५ सांसद रहने छन्, जसमध्ये १ जनाले नेतृत्व गर्ने जनाइएको छ । संसदीय मामिला मन्त्रालयले टोली नेताहरूको नाम सार्वजनिक गरेको छ ।

टोलीमा सत्तारुढ भाजपाबाट रविशंकर प्रसाद र बैजयन्त पाण्डा छन् । विपक्षी कांग्रेसबाट शशि थरुर पनि सूचीमा छन् । त्यस्तै सञ्जय कुमार झा (जेडीयू), कनिमोझी करुणानिधि (डीएमके), सुप्रिया सुले (एनसीपी–एसपी) र श्रीकान्त एकनाथ शिन्दे (शिवसेना–शिन्दे समूह) का सांसद पनि टोलीमा रहेका छन् ।

यी टोलीले १० दिनसम्म संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यसहित प्रमुख देशहरूको भ्रमण गर्नेछ । उनीहरूले

आतंकवादविरुद्ध भारतको नीति र ‘अपरेशन सिन्दूर’मार्फत पाकिस्तानविरुद्धको कारबाहीबारे जानकारी गराउने भएका छन् ।

भारतको समाचार संस्था पीटीआईका अनुसार टोलीले अमेरिका, बेलायत, दक्षिण अफ्रिका, कतार र युएईको भ्रमण गर्नेछ । शशि थरुरले एक्समा लेखेका छन्, ‘५ प्रमुख राजधानीहरूमा सर्वदलीय टोलीको नेतृत्व गर्न सरकारको निमन्त्रणाबाट म सम्मानित छु ।’ टोलीमा अनुराग ठाकुर, अपराजिता सारंगी, सुदीप बन्द्योपाध्याय, सस्मित पात्रा, जोन ब्रिटास र असदुद्दीन ओवैसीको नाम विचाराधीन छन् ।

अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलामा २६ पर्यटक मारिएका थिए । जवाफमा ७ मेमा भारतले पाकिस्तान प्रशासित कश्मीरमा ९ आतंकवादी अड्डामा हवाई हमला गरेको थियो । हमलामा १०० आतंकवादी मारिएको भारतको दाबी छ । जवाफमा पाकिस्तानले पनि भारतमाथि आक्रमण गरेको थियो । तर १० मे मा दुवै देश युद्धविराम गर्न मा सहमत भए ।