विदेशमा रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

विदेशमा रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । उनले देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे ।

“कांग्रेस कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौँ”, मन्त्री ज्ञवालीले भने, “तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुपर्यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुपर्यो । तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस् ।”

उनले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए । फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्दै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको जनाए ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिए । “व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ”, मन्त्री ज्ञवालीले भने, “यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी गराए । रासस