काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योग धन्दाहरुमा प्रयोग भइरहेको अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग तत्काल रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन थालेपछि उद्योगधन्दाहरुमा अक्सिजन र सिलिण्डर प्रयोग रोक्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिण्डरहरु प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न निर्देशन दिएका हुन् ।
‘अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकोले सम्बन्धित सबै उद्योगी, व्यवसायीहरु र सरोकारवालामा त्यस्ता अक्सिजन सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिनुहुन, धेरै भन्दा धेरै सिलिण्डरहरु भरी नेपाली नागरिकहरुको ज्यान बचाउने उपायहरुका लागि अस्पतालहरुमा उपलव्ध गराउने कार्य गरिदिनुहुन हार्दिक अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै सरकारको यस निर्णयको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने चेतावनी दिएको छ ।





प्रतिक्रिया