जाडो मौसममा दैनिक कति पानी पिउने ?

जाडो मौसममा दैनिक कति पानी पिउने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् ।

अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २।२ लिटर पानी पिउनुपर्ने छ ।

साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि।लि, दिसाबाट १०० मिलिलिटर पिसाबबाट १५०० मिलि गरी लगभग २–३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ ।

कुनै काम नगरी बस्दापनि दुईतीन लिटर पानी पिउँनैपर्छ भने कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ ।

शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ ।

जाडो महिनामा पिउने न्यानो पानीले पाचन प्रणाली सुधार गर्ने, कब्जियत कम गर्ने, चिसोका कारण हुने घाँटी दुखाइ र खोकीमा राहत दिने तथा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्ने चिकित्सकहरूले बताएका छन् ।

विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै एक गिलास न्यानो पानी पिउनु लाभदायक हुन्छ । त्यस्तै खाना खानु अघि वा खानापछि ३० मिनेटको अन्तरालमा पानी पिउन सुझाव दिइएको छ । सुत्नुअघि धेरै पानी पिउनु भने उपयुक्त नहुने बताइएको छ ।

मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

जाडोमा पानी कम पिउँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता समस्या

स्वास्थ्यकर्मीहरूका अनुसार पानीको कमीले टाउको दुख्ने, थकान महसुस हुने, कब्जियत तथा छाला सुक्खा हुने समस्या देखिन सक्छ ।

जाडोमा न्यानो पानी पिउनु पाचन सुधारका लागि उपयोगी

जाडो महिनामा न्यानो पानी पिउनुले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । न्यानो पानीले पेटको गतिविधि बढाउने, खाना सजिलै पचाउन मद्दत गर्ने तथा ग्यासको समस्या कम हुन्छ । बिहान खाली पेट न्यानो पानी पिउनु विशेष लाभदायक हुने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

अत्यधिक तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक

धेरै तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्।

अत्यधिक तातो पानीले घाँटी, जिब्रो र पाचन नलीमा जलन गराउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार न्यानो पानी नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ । मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले तातो पानीको मात्रा र तापक्रम चिकित्सकको सल्लाह अनुसार मिलाउनुपर्ने सुझाव दिइएको छ ।