एमालेले पाँचथरमा जोगाउला ०७४ को बिरासत ?

एमालेले पाँचथरमा जोगाउला ०७४ को बिरासत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको सुदूरपूर्वमा पर्ने पाँचथर जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् । प्रदेश १ अन्तर्गतको जिल्ला पाँचथरमा ०७४ को स्थानीय निर्वाचनमा आठ पालिकामध्ये चार कांग्रेस, तीन एमाले र एक माओवादी केन्द्रले जितेको थियो ।

कांग्रेसले फिदिम नगरपालिकासहित तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनानन्द गाउँपालिका जितेको थियो । एमाले कुम्मायक गाउँपालिका, याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिका जितेको थियो भने माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका जितेको थियो ।

तर, कांग्रेसले जितेको फाल्गुनानन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङले जितेका थिए । उनी नेकपा विभाजनपछि एमालेमै खुलेका छन् । त्यसकारण पाँचथरका चार पालिका एमालेको पोल्टामा छन् । जिल्लामा आगामी स्थानीय तह निर्वाचनमा मुख्यतः एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

विगतको मतपरिणामअनुसार कांग्रेसले जितेका फालेलुङ, तुम्वेवा गाउँपालिकामा माओवादी प्रतिस्पर्धामा थियो । तर, अहिले जिल्लामा पाँच दलबीच तालमेल गर्ने सैद्धान्तिक सहमति स्थानीय नेताहरूले गरेका छन् । यद्यपि, पालिका बाँडफाँडमा भने सहमति जुट्न सकेको छैन ।

कतिपय पालिकामा राप्रपाको प्रभाव पनि छ । यद्यपि, राप्रपा पनि विभाजित छ । जिल्लामा तत्कालीन संघीय समाजवादी हालको जसपाको पनि सामान्य प्रभाव देखिन्छ । पाँचथर पूर्वमन्त्री एवं एमाले नेता वसन्तकुमार नेम्वाङको गृहजिल्ला पनि हो । उनको प्रभाव जिल्लामा राम्रो छ । पार्टी विभाजनको असर पनि जिल्लामा कम रहेको दाबी एमाले नेताहरूको छ । जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि कम छन् ।

तर, तेस्रो शक्ति माओवादी भएका कारण कांग्रेस र अन्य दलसँग तालमेल भएको खण्डमा एमालेले ठूलै दबाबको सामना गर्ने देखिन्छ । तालमेल नभएको खण्डका एमालेका लागि कतिपय पालिकामा राहत हुनेछ । त्यसबाहेक दलहरूले उठाउने उम्मेदवार र थपिएका नयाँ मतदाताका कारण पनि मतपरिणाम तलमाथि हुन सक्छ ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ७३ हजार ५ सय ७६ पुरुष र ६६ हजार ६ सय ४८ महिला गरी १ लाख ४० हजार २ सय २४ मतदाता छन् । निर्वाचनका लागि जिल्लामा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ बाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका दल आठ दल दर्ता छन् ।

हेर्नुहोस्, पाँचथरका आठवटै स्थानीय तहमा ०७४ को निर्वाचनको वडासम्मकै अंकगणित र थपिएका मतदाताको संख्या इन्फोग्राफमा ।