पाँचथर – गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घटनाबारे भागेर बाँच्न सफल एक बालिकाले मुख खोलेकी छन् ।
भागेर बाँच्न सफल १२ वर्षीया बालिका सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।
घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे ।’ पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो ।
धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको थियो । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए ।
हत्या भएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।
घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । प्रहरीले अहिले घटनाको अनुसन्धान थालेको जनाएको छ ।




प्रतिक्रिया