काठमाण्डु – गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा यतिवेला चुनावी सरगर्मी बढ्दो छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई प्रतिष्ठा बनाएर जिल्लाका राजनीतिक दलले आफ्ना प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् ।
एमाले विगतको बिरासत जोगाउने रणनीतिमा छ भने एमाले विभाजनको फाइदा उठाउने दाउमा कांग्रेस छ । स्याङ्जामा पाँच नगरपालिकासहित ११ स्थानीय तह छन् ।०७४ को स्थानीय निर्वाचनमा एमालेले ११ मध्ये सदरमुकाम पुतलीबजार नगरपालिकासहित सातवटा पालिकामा प्रमुखमा जितेको थियो । बाँकी चारवटा पालिकामा कांग्रेसले जितेको थियो । पुतलीबजार नगरपालिकाको मेयरमा एमालेकी सीमाकुमारी क्षेत्री विजयी भएकी थिइन् । उनले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मीलाई १ हजार २ सय २० मतले पराजित गरेकी थिइन् ।
एमालेले गल्याङ नगरपालिका, कालीगण्डकी, फेदीखोला, बिरुवा, हरिनास र आँधीखोला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै जितेको थियो । ०७४ को मतपरिणामअनुसार यसपटक कांग्रेसले तालमेल गरे पनि आँधीखोला गाउँपालिकामा एमाले नै बलियो देखिन्छ । कांग्रेसले चापाकोट, भीरकोट र वालिङ नगरपालिकासहित अर्जुन–चौपारी गाउँपालिका जितेको थियो । तेस्रो पार्टी माओवादीले कुनै पालिका जित्न सकेन । जिल्लामा सत्तागठबन्धन दलबीच तालमेलका प्रयास पनि भएका छन् । तालमेल नभए पनि कांग्रेस यी पालिकामा जित सुनिश्चित गर्ने रणनीतिमा देखिन्छ ।
स्याङ्जा कांग्रेसका उपसभापति धनराज गुरुङ र पूर्वउपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला हो । तर, गुरुङ भने गठबन्धनको पक्षमा छैनन् । उनले कांग्रेस एक्लै चुनाव लड्न सक्षम भएको बताउँदै आएका छन् । त्यसकारण आफ्नो जिल्लाको निर्वाचन उनको प्रतिष्ठासँग जोडिएको छ ।
पूर्वसभापति गोपालमानको प्रभाव रहँदा जिल्लामा लामो समय कांग्रेसको पकड थियो । तर, ०७४ को निर्वाचनमा भने एमाले धेरै पालिका जितेर पहिलो दल बन्यो । स्याङ्जा एमाले सचिव पद्मा अर्यालको पनि गृहजिल्ला हो । कांग्रेसको पकड क्षेत्र स्याङ्जामा गोपालमानलाई निर्वाचनमा हराउन अर्याल सफल भइन् । एमालेको जिल्लाको नेतृत्व पनि अर्यालले गरेकी थिइन् । पछि उनलाई केपी ओलीले भूमिसुधारमन्त्री बनाए । यसपटक पार्टी विभाजन भएको हुँदा एकीकृत समाजवादीले केही मत काट्न सक्ने डर एमालेलाई छ ।
यद्यपि, पार्टी विभाजन हुँदा जिल्लामा जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेनन् । तर, जिल्लाका केही पदाधिकारीसहित नेता–कार्यकर्ता एमालेमा लागेका छन् । अर्कोतर्फ माओवादीका सूर्यप्रसाद गैरे पारस एमालेमा प्रवेश गरेका छन् । विभाजनको पूर्ति माओवादीबाट भएको नेताहरुको दाबी छ । पछि उनलाई अर्यालकै जोडबलमा एमालेले जिल्ला अध्यक्ष बनाएको छ । यसप्रति एमालेका नेता–कार्यकर्ता असन्तुष्ट बनेका छन् । त्यसकारण अर्यालका सामु ०७४ को बिरासत जोगाउने चुनौती छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लामा २ लाख ४० हजार ५ सय ३५ मतदाता छन् । त्यसमध्ये १ लाख २३ हजार ८ सय ६८ महिला र १ लाख १६ हजार ६ सय ६६ पुरुष छन् । १ जना अन्य छन् । जिल्लामा नयाँ थपिएका मतदाता र विगतमा जनप्रतिनिधिले गरेको काम पनि चुनावमा जित–हारको मुख्य फ्याक्टर बन्ने देखिन्छ । स्थानीय चुनावका लागि ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १३ दल दर्ता छन् ।





प्रतिक्रिया