पहिले मोदी नेपाल आउने की ओली भारत जाने?


नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई छिमेकी राष्ट्र भ्रमणको निम्तो आउने चलन पुरानो हो ।
विषेश गरेर नेपाली प्रधानमन्त्रीलाई भारत र चीन सरकारबाट भ्रमणको छिटो निम्तो आउने गर्छ । त्यो निम्तो स्वीकारेर प्रधानमन्त्री पनि आफू निकट देशमा भ्रमणमा जाने परम्परा छ ।

वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनलाई विभिन्न देशबाट बधाइको ओइरो लागेको छ । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओली प्रधामन्त्री भए लगत्तै फोन गरेर शुभकामना दिएका थिए ।

मोदीले फोनमा बधाइ दिनु र भ्रमणको निम्तोले अब प्रधानमन्त्रीको भारत भ्रमण छिटै हुने अनुमान गरिएको थियो ।

फाइल तस्वीर

तर नवनियुक्त परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सन् २०१८ भित्रै भारत र चीनको कार्यकारी तहको भ्रमण गराउने तयारीमा सरकार जुटेको बताएका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यही वर्ष नेपाल भ्रमण गराउने तयारीमा जुटेको जनाएका छन् ।

अब परराष्ट्र मन्त्रालयको यो तयारीले प्रधानमन्त्रीको छिमेकी मुलुक भ्रमण कहिले हुने भन्ने विषय छायाँमा परेको छ ।

तर प्रधानमन्त्री ओलीले भने भारत र चीन दुवैलाई बराबर प्राथमिकतामा राखेर सन्तुलित कुटनीति सम्बन्ध राख्ने योजना बनाएका छन् । ओलीले आफ्नो सरकार बन्ने पक्कापक्की भएदेखिनै दुवै राष्ट्रसँग सन्तुलित व्यवहार देखाउन सुरु गरेका थिए ।

यो बीचमा भारतीय प्रधानमन्त्री मोदी नै नेपाल पहिला भ्रमण गर्ने सम्भावना पनि छ ।

यसै वर्ष नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन हुँदैछ । सोही अवसरमा मोदीले नेपाल भ्रमण गर्ने योजना बनाएका छन् । भारतीय सञ्चारमाध्यमले मोदीले नेपाल लगायत अन्य देशको भ्रमणको तयारी गरेको जनाएको छ ।

ओलीलाई बधाइ दिन मोदीले गरेको फोनवार्तामा ओलीले पुरानो स्थगित भ्रमणको सम्झना गराउँदै मुक्तिनाथ र जानकी मन्दिर दर्शन गर्न निम्ता दिएका थिए । दुई देशविचको सम्बन्ध भ्रमणबाट सुध्रने मात्र नभई महत्वपुर्ण कुरामा सहयोग हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइमा केन्द्रित हुने हो भने अोली भन्दा पहिला मोदी नै नेपाल भ्रमणमा आउनेछन् ।

२०७२ को भुकम्पपछिको भारतीय नाकाबन्दीमा प्रधानमन्त्री ओलीले लिएको अडानले ओली भारत विरुद्ध जस्तो देखिएपनि अहिले मोदीको अोली मोह स्पस्ट देख्न सकिन्छ । मोदीले सन् २०१४ मा दुई पटक नेपाल भ्रमण गरिसकेका छन् ।

उता भारतीय सञ्चार माध्यमले जनाएअनुसार दिल्लीले पहिला ओलीलाई स्वागत गर्न तयारी गरिरहेको छ । ओली प्रधानमन्त्री भएलगत्तै मोदीको फोनवार्ताले अोलीको भारत भ्रमण  पहिला हुने अनुमान भारतीय सञ्चार माध्यमले लगाएका छन् ।

नेपालको प्रधानमन्त्रीको हैसियतले पहिला भ्रमण गर्ने छिमेकी मुलुक भारत नै बन्ने गरेको छ । मुलुकको राजनीतिक अवस्था विग्रँदा वा सप्रँदा, आफुलाई चाहिएको बेला दिल्ली नै नेताहरुको गुहार लगाउने ठाउँ मानिन्छ । नेपालमा नयाँ सरकार गठन पछि भारतले छिमेकी मुलुकको हिसावले सधैं भ्रमणको निम्तो पठाउने गरेको छ ।

यो तयारीको बीचमा चीन प्राथमिकतामा परेपनि नेपाल पहिला भारतसँगै सम्बन्ध सुधार गर्न आवश्यक ठान्छ भने चीनले पनि यसमा कुनै प्रतिक्रिया दिँदैन । किनकी चीन पनि भारतसँग सकरात्मक सम्बन्ध चाहन्छ ।

अब यो सवाल छ, मोदी पहिला नेपाल भ्रमणमा आउँछन् की अोली भारत भ्रमणमा जान्छन् । ओली र मोदी अहिले सम्बन्ध सुधारको प्रयासमा रहँदा दुवैको भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement