काठमाण्डु – पहिरो झरेर कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रिडी‐रुद्रबेणी सडक खण्डमा ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिका अन्तर्गत रिडी बजारदेखि नजिकै रहेको विष्णुपञ्जरमा बुधबार राति ठूलो चट्टान सहितको पहिरो खसेको छ । पहिरो खसेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा सडक सञ्चालनका लागि बिहानैदेखि प्रहरी टोली घटनास्थलमा खटिरहेको छ ।
बिडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमबाट पहिरो पन्छाउने काम भइरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
रिडी–रुद्रवेणी‐वामीटक्सार हुँदै बागलुङको बुर्तिवाङसम्म पुग्ने सडक जिल्लामा सबैभन्दा बढी सवारीसाधनहरू सञ्चालन हुने सडकमा पर्छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल लगायतका गन्तव्यमा पुग्ने यात्रु र सवारीसाधन रोकिएका छन् ।




प्रतिक्रिया