ताप्लेजुङ–जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएकी छन् ।
४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको छ । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेको बताइएको छ। जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले बाढी तथा पहिरोको २० वर्षको अवस्थालाई मध्यनजर गर्दै जोखिमबारे औँल्याएको हो। जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनामलगायत ४ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। उता, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप पनि पहिरोको उच्च जोखिममा रहेका बताइएको छ। पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गरी तीनवटा वडा, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन तथा मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका छन् ।




प्रतिक्रिया