बागलुङ — पहिरोमा परेर बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षापछि मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको हो । पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाबारे थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
वडा नं १० को आरुपाटामा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।
प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएकाले घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएकाले उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको छ । वडाध्यक्ष वीरेन्द्र बुढाले पनि घटनास्थल जाने झोलुंगे पुल भत्केकोले उद्धारमा कठिनाइ भएको बताए ।
घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया