पासाङल्हामु गाउँपालिकाद्वारा थामे गाउँमा उद्धार र राहतका लागि सरकारसँग आग्रह

पासाङल्हामु गाउँपालिकाद्वारा थामे गाउँमा उद्धार र राहतका लागि सरकारसँग आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पालिकाको वडा नं. ५ स्थित थामे वस्तीमा आएको लेदो सहितको बाढीले १४ वटा घर बगाएको जनाएको छ।

शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले बस्तीमा अचानक आएको बाढीबाट हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका छन् भने अन्य घरमा समेत बाढी पसी धनमालको क्षति भएको जानकारी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने बताएका छन्।

गाउँपालिकाले गर्नुपर्ने थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

यता जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्रमा शनिबार विहानसम्म थप सकर्तता अपनाउन आग्रह गरेको छ। शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोला एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा सो थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल÷हिमपोखरीहरू रहेको देखिएको महाशाखाले जनाएको छ।