पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप १ लाख प्रदान गर्ने घोषणा गरे ।

भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा धामीकी ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, ६ वर्षीया नातिनी आकृति धामी र ३ वर्षीया नातिनी लक्ष्मी धामी गरी ४ जनाको ज्यान गएको थियो ।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।