पहिरोका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

पहिरोका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ ।

सडक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर पहिरोका कारण राष्ट्रिय राजमार्गका ७ वटा खण्ड अवरुद्ध भएका छन् भने २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् ।

मदन भण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । मोरङको चतरा–मुलघाट–माझीटार–अमापु डाँडा– गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या परेको छ ।

सुर्खेतको तल्लो ढुङ्गेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ ।

यसैगरी तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागको तथ्यांक रहेको छ ।

भूगर्भविद् डा. सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा समेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । ‘अविरल वर्षाका कारण माटो गलाएको छ । अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ,’ उनले भने, ‘त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।’