काठमाण्डु-धनकुटा र पाँचथरमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यलय पानीवास धनकुटाका अनुसार शनिबार बिहान पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमासन्तोष तामाङको घरमा माथिबाट पहिरो खसेको हो ।
मान्छे नबसेको नयाँ घरमा पहिरो खस्ने क्रममा घरमा राखेको सामान निकाल्न जाँदा तामाङकी श्रीमती अन्दाजी ३२ वर्षीया आशा तामाङ र सासू ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको छ ।
उक्त घरमा सामान निकाल्न जाने क्रममा छिमेकी योगेन्द्र बाहदुर तामाङकी श्रीमती २४ वर्षीया मिन माया तामाङ समान्य घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।
यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीस्थित आदिवासी जनजातिको भवन छेउको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन् ।
उनीहरू फिदिम–४ मा डेरामा बस्दै आएका थिए ।
साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।
यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।
गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ ।




प्रतिक्रिया