पहिरो खसेपछि मुग्लिन–मलेखु र बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरो खसेपछि मुग्लिन–मलेखु र बेँसीसहर–चामे सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७:३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनले पहिरोले दुईतर्फी नै सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु रोकिएका बताए।

यस्तै,पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।