काठमाण्डु – लगातारको वर्षा र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा ढुंगा तथा लेदो खस्दा पृथ्वी राजमार्गको आवागमन प्रभावित भएको हो। माथिल्लो भागबाट ढुंगा र लेदो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको छ।
भदौ १० गतेको बाढीले सडक कटान गरी भासिएपछि नयाँ डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याइएको कृष्णभीरमा पुनः पहिरोको जोखिम देखिएको हो। डाइभर्सनलाई टेवा दिइरहेको तल्लो भागको ग्याभिन वालको एउटा सेक्सनमा समेत क्षति पुगेको छ।
नयाँ ट्र्याकबाट अझै सवारी सञ्चालन गर्न सकिने अवस्थामा रहे पनि निरन्तर पानी परिरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको छ। कृष्णभीरभन्दा करिब एक किलोमिटर मुग्लिनतर्फ ढुंगा खसेर ठूलो पहिरो गएको छ ।
यस्तै पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३ शीतलबजार क्षेत्रमा पनि पानीसँगै पहिरो तथा लेदो खसेको छ। त्यस्तै गजुरी गाउँपालिका–५ को बाङ्गे, बेनीघाट रोराङ–१० को तित्राङखानी, बेनीघाट रोराङ–९ को ज्यामिरेघाट, गजुरी–२ को परेवाभीर तथा चालीसे र बेनीघाट रोराङ-१० को ज्वाङखोलालगायतका स्थानमा पहिरो तथा ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
नागढुंगादेखि मलेखुसम्म तीनवटा खण्डलाई तत्काल बढी जोखिमयुक्त रूपमा हेरिएको छ। यसैगरी लगातारको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ ।
मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथलह सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस्तै, कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खस्दा सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । जुम्लादेखि मुगुसम्मको सडकसमेत अवरुद्ध भएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण छेडाथलह सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
यता, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पाका विभिन्न सडकखण्ड प्रभावित भएका छन् । लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि राजमाग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहान तिनाउ गाउँपालिका– ५, चरचरे र केराबारीमा सडकमाथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङजा, पोखरा, बेनी, मुस्ताङलगायतका स्थानमा जाने र बुटवलतर्फ आउने सवारीसाधन चल्ने गर्छन् ।
यस्तै, गुल्मीको कालिगण्डकी कोरिडोरअन्तर्गत कालिगण्डकी गाउँपालिका– २, राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानैबाट सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–७, सिस्नेभिर क्षेत्रमा पहिरो खस्दा रुद्रबेनी–वामी टक्सेरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका– १, बाख्रेमा शुक्रबार राति पहिरो खस्दा रिडी–तम्घास सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रोल्पाको शहीदमार्ग सडकखण्डअन्तर्गत माडी गाउँपालिका– ३, गरगरेमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
यस्तैगरी, प्युठानको नौबहिनी गाउँपालिका– ६, बाग्दुलामा शुक्रबार राति पहिरो खस्दा बाग्दुला बाहाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने प्युठानकै प्युठान नगरपालिका– ५, बिजुवारमा पहिरो खस्दा बिजुवार–ढुंगेठाँटी भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत अर्घाखाँचीको शितगंगा नगरपालिका– २, भुवनपाटामा शुक्रबार दिउँसो सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका– ५, बोदीमा पहिरोले अवरुद्ध भएको सडक पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
पाल्पाको कालिगण्डकी कोरिडोरअन्तर्गत रामपुर नगरपालिका– १, स्याउली बजार क्षेत्रमा पहिरोले अवरुद्ध भएको सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया