काठमाण्डु-भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो ।
अद्वैतमार्गी योगी बाबा मधुमेहबाट ग्रसित थिइ । भारतको विहारको सासाराममा सन् १९३८ मा जन्मिएका कपिल सिंह पछि अद्वैतमार्गी भई कपिल अद्वैत बनेका थिए । नेपालको हिमालय क्षेत्रमा साधना गरेका उनले भक्तपुरको गुण्डुमा पाइलट बाबा आश्रम समेत स्थापना गरेका छन् ।
पाइलट बाबा सन्यासीहरूमाझ सोमनाथ गिरिका नामबाट चिनिन्छन् । भारतमा सन्यासीहरूको सबैभन्दा ठूलो जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाले मकवानपुरको त्रिखण्डीमा नेपाली गुरु हरि गिरि महाराजसँग दीक्षा लिएका थिए ।
उनले भारतका हरिद्वार र गङ्गोत्रीलगायत अनेक स्थानमा जुना अखडा नामबाट आश्रम चलाएका थिए । पाइलट बाबाको निधन शोकमा जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने निर्णय भएको छ । उनको अन्तेष्टि आज भारतको हरिद्वारमा हुनेछ ।
बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)बाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका पाइलट बाबा सन् १९५७ मा भारतीय वायु सेनामा प्रवेश गरेका थिए । वायुसेना पाइलटका रूपमा उनले १५ वर्षसम्म सेवा गरेका थिए ।
उनले सन् १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानविरुद्धको युद्धमा समेत भाग लिएका थिए । कम उचाइमा उडान भर्दै कीर्तिमान कायम गरेका पाइलट बाबालाई भारत सरकारले वीर चक्र लगायत विभूषणबाट सम्मान गरेको थियो ।
प्रतिक्रिया