नेपाल–चीन सीमामा भारतले बेइज्जती खेप्नुपर्योः पाकिस्तानी सेना प्रमुख


एजेन्सी – पाकिस्तानी सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक मेजर जनरल बबर इफतिखरले छिमेकी राष्ट्रहरुसँग भारतको सम्बन्ध खराब रहेको बताएका छन् । उनले नेपाल–चीसँग सीमा विवादका कारण भारतको सम्बन्ध बिग्रिएको बताएका हुन् ।

उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ । अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको छ । मजदूरहरूको पलायनबाट नै भारतको कुव्यवस्थापन झल्किन्छ । त्यहाँ भाइरस तीव्र गतिमा फैलिँदैछ र अर्थतन्त्र सुस्त बनेको छ ।’

उनले पाकिस्तानविरुद्ध सैनिक कारवाही गरे पाकिस्तानी सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले पाकिस्तान आगो भएकाले ‘आगोसँग नखेल्न’ चेतावनी दिएका छन् । इफतिखरले कोरोनाका कारण भारतको अर्थतन्त्र विनाश भएको भन्दै नरेन्द्र मोदी सरकारले आफ्नो असफलता लुकाउन पाकिस्तानमाथि आरोप लगाइरहेको बताए ।

‘भारतमा इस्लामोफोबिया बढ्दै गएको छ । विश्वका अधिकांश देशहरुले भारतलाई यसबारेमा सतर्क गरिरहेको छ । अहिले उनीहरु महामारी नियन्त्रण र अर्थतन्त्रमा सुधार ल्याउन असफल भएका छन् र कुरा मोड्न पाकिस्तानको प्रयोग गरिरहेका छन्’, उनले भने ।

उनले थपे, ‘अगस्ट ५ पछि भारतले कश्मीरका विषयमा उठाएका कदम पनि ब्याकफायर हुन पुगे । नागरिकता संशोधन कानून ल्याएर मुसलमानविरोधी लहर उत्पन्न गरियो र यसलाई संसारले अनुभव ग¥यो । भारत हरेक तहमा असफल र लज्जित भइरहेको छ ।’

इफ्तिकारले भने, ‘भारतको अहिलेको नेतृत्व यी सबै विषयबाट ध्यान भड्काउन पाकिस्तानसँग युद्धको बहाना खोजिरहेको छ । तर भारतले पाकिस्तानतर्फ आक्रामक रूपमा बढ्न खोजेमा पाकिस्तानले सशक्त जवाफ फर्काउँछ भन्ने मेरो धारणा छ । यसमा कसैले शंका गर्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement