काठमाण्डु – पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।
मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष छन् । अफगान सरकारले कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।
अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ । अफगान पक्षका अनुसार गएराति पाकिस्तानी सेनाका लडाकु विमानहरूले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेका थिए ।
पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप अफगानिस्तानले लगाएको छ ।
अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका तर्फबाट जारी गरिएको विज्ञप्तिअनुसार पाकिस्तानी सेनाले पुनः एकपटक अफगानिस्तानको सार्वभौमसत्ताको उल्लंघन गरेको छ ।
मुजाहिदका अनुसार पाकिस्तानी लडाकु विमानहरूले अफगानिस्तानका तीन प्रमुख प्रान्त-कुनार, खोस्त र पक्तिकाका आवासीय क्षेत्रहरूलाई निशाना बनाएका थिए । ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूमा बमबारी गरिएकाले धेरै घरमा क्षति पुगेको बताइएको छ ।




प्रतिक्रिया