काठमाण्डु – बंगलादेश र पाकिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः सक्रिय बनाउनुपर्ने विषयमा छलफल गरेका छन् ।
बंगलादेशको भ्रमणमा रहेका पाकिस्तानका परराष्ट्रमन्त्री इशाक दारले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससँग आइतबार भएको भेटमा ढाका र इस्लामाबादसँग द्विपक्षीय सम्बन्ध मात्र नभई क्षेत्रीय सहयोगलाई समेत सुदृढ गर्नुपर्नेमा जोडमा दिएका छन् ।
२०१६ मा भारतको उरीमा भएको आक्रमणपछि सार्क निष्क्रिय भएको छ । उरीमा पाकिस्तानले आक्रमण गरेको भारतको दाबी छ । उक्त आक्रमणमा १७ भारतीय सैनिकहरू मारिएका थिए ।
‘म सार्कलाई प्रोत्साहन दिन्छु र पाकिस्तान तथा अन्य सार्क मुलुकहरूसँगको हाम्रो सम्बन्धलाई उच्च प्राथमिकताका रूपमा हेर्छु,” पाकिस्तानी विदेशमन्त्री दारसँगको भेटमा युनुसले भने ।
दारसँगको भेटमा युनुसले सार्कलाई प्रवर्द्धन गर्ने पक्षमा आफू रहेको बताए । पाकिस्तानसहित अरू सार्क राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने उनले उल्लेख को इण्डिया टुडेले जनाएको छ ।
यो भेट पाकिस्तानका परराष्ट्रमन्त्रीले १३ वर्षपछि बंगलादेशको पहिलो भ्रमणका क्रममा भएको हो ।
युनुसको यो पहल उनले गत वर्ष न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभा को अवसरमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग गरेको भेटघाटपछि आएको हो । त्यतिबेला पनि सार्कलाई पुनर्जीवनको विषय प्रमुख छलफलमा रहेको थियो ।
अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य रहेको सार्कले २०१४ मा काठमाण्डुमा भएको सम्मेलनपछि अर्को शिखर सम्मेलन गर्न सकेको छैन ।
सार्कको निष्क्रियता विशेषगरी दक्षिण एसियामा बढेका तनावका कारण हो । २०१६ को उरी आक्रमणपछि भारत र बंगलादेशलगायतका मुलुकहरूले इस्लामाबादमा हुन लागेको सार्क सम्मेलन बहिष्कार गरेका थिए ।
युनुस–दारको भेटजस्तै अन्य कूटनीतिक पहलहरू भए पनि सार्कको भविष्य अझै अनिश्चित छ ।
भारत र पाकिस्तानको निरन्तर अवरोधकारी भूमिकाले यस क्षेत्रीय संगठनलाई कमजोर बनाएको छ, जसका कारण अन्य सदस्य मुलुकहरूले वैकल्पिक क्षेत्रीय संयन्त्रहरू मार्फत प्रगति गर्ने बाटो रोजिरहेका छन् ।




प्रतिक्रिया