पाकिस्तानी प्रधानमन्त्री इमरानलाई चीनको भर

पाकिस्तानी प्रधानमन्त्री इमरानलाई चीनको भर


बेइजिङ– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देश ‘अत्यन्त अप्ठेरो’ आर्थिक अवस्थामा रहेको बताएका छन् । खान सहयोगको अपेक्षासहित चीन पुगेका छन् । उनले शनिबार प्रधानमन्त्री ली खछ्याङसँग भेट गरेका छन् । दुई देशबीच १५ सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

प्रधानमन्त्रीका रुपमा खान पहिलो चीन भ्रमणमा छन् । आर्थिक संकटका बीच सहयोग माग्दै आएका इमरानलाई चीनले भर दिएको छ । ‘चीन पाकिस्तानको साथमा छ,’ प्रधानमन्त्री लीले खानलाई स्वागत गर्दै भने । भेटका क्रममा पाकिस्तानको गरिबी निवारण, कृषि, उद्योग, प्राविधिक तालिमलगायतका क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा हस्ताक्षर भयो । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस्तै पाकिस्तानमा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सहयोग गर्न पनि चीन तयार भएको छ।

‘चीनको लगानी आकर्षित गरेर नै हामीले देश विकास गर्न सक्छौँ, त्यो हाम्रा लागि अवसर हुनेछ,’ खानले भने, ‘चीनको सहयोगले मात्रै हामी समृद्धितर्फ जान सक्छौँ ।’ सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले पाकिस्तान सँधै चीनको प्राथमिकतामा रहेको पनि बताए।

चाइना पाकिस्तान इकोनोमिक करिडोर (सीपेक) परियोजना विकासबारे पनि दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ । ‘सीपेकले पाकिस्तान र चीनलाई फाइदा मात्रै दिनेछैन, बरु देशको मुहार नै फेरिदिनेछ,’ प्रधानमन्त्री लीले भने । खान र लीबीचको भेटमा उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो ।

चिनियाँ स्टेट काउन्सिलर वाङ यीले पनि पाकिस्तानलाई सहयोग गर्ने वचन दिए । विदेशमन्त्री शाह महमुद खुरेसीसँगको भेटमा वाङले पाकिस्तानलाई निराश नपार्ने बताए । दुवैले एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।यसअघि शुक्रबार खानले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । उनले आफू सिक्नका लागि चीन आएको बताएका थिए ।

‘मेरो पार्टी शक्तिमा आएको मात्र दुई महिना भयो । दुर्भाग्यवश हामीले विरासतमा एकदमै कठिन आर्थिक अवस्था पायौँ,’ खानले सीसँग भने ।सीले चीन–पाकिस्तान सम्बन्धलाई ठूलो महत्व दिएको बताए । उनले चीनलाई ‘सदाबहार मित्र’को संज्ञा पनि दिए ।

गत नौ महिनामा पाकिस्तानको विदेशी मुद्रा भण्डार ४२ प्रतिशतले कम भएको छ । अहिले पाकिस्तानसँग विदेशी मुद्रा भण्डार ७.८ अर्ब डलर मात्र छ । गत महिना पाकिस्तानले साउदी अरबबाट छ अर्ब डलरको उद्धार प्याकेज प्राप्त गरेको थियो । त्यसैले चीनसँग पनि पाकिस्तानको ठूलो अपेक्षा छ ।

पाकिस्तानका लागि चीन पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ । चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अन्तर्गत चीनमा ठूला परियोजना सञ्चालित छन् । पछिल्लो समय चीन र पाकिस्तानको सहकार्य बढ्दै गएको छ ।

६० अर्ब डलरको चाइना पाकिस्तान इकोनोमिक करिडोरलाई चीनले अत्यन्त महत्वपूर्ण परियोजना मान्छ ।बेइजिङपछि खान सांघाइ जानेछन् । त्यहाँ उनले एक मेलामा कि नोट स्पिच दिनेछन्।

अाजकाे अन्नपूर्ण पाेस्ट्मा खबर छ।