काठमाण्डु– सभामुख देवराज घिमिरे र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
बुधबार सभामुखले सिंहदरबारमा पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गरेका हुन् ।
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डल मंगलबार काठमाण्डुमा सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए ।
भेटमा सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिए । उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा समेत राखे ।
प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।




प्रतिक्रिया