एजेन्सी – भारतको जम्मू–कश्मिरस्थित पुलवा जिल्लामा सरकारी सुरक्षा फौजलाई लक्षित गरी भएको आक्रमणको योजना पाकिस्तानमा बनेको खुलासा भएको बेला पाकिस्तानले हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ ।
पुलवा जिल्लामा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि पाकिस्तानले जमात–उद–दावामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त आत्मघाति आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले लिइसकेको छ। भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा गरिएको यो नै सबैभन्दा ठूलो आक्रमण हो।

पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा राष्ट्रिय कार्ययोजनाको बिस्तारमा समीक्षा भयो । बैठकपछि मन्त्रालयले जमात–उद–दावा र फलाह–ए–इंसानियतमाथि प्रतिबन्ध लगाउने भएको हो । जमात–उद–दावा पाकिस्तानका चरमपन्थी नेता हाफिज सईदको संगठन हो ।
पुलवामा आक्रमणपछि तीव्र बनेको राजनीतिक प्रतिक्रियाका बिच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका हुन् । बैठकले पुलवा जिल्ला आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । पुलवामा आक्रमणको योजना भारत प्रशासित कश्मिरमै त्यहिँका चरमपन्थीले बनाएको र उनीहरुले गरेकाले यसमा आफूहरुको कुनै सम्बन्ध नरहेको पाकिस्तानको भनाई छ ।




प्रतिक्रिया