पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई हृदयघात


एजेन्सी – पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारकै क्रममा हृदयघात भएको छ । अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले ट्वीटमार्फत जानकारी गराएका हुन् ।

‘पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उनले निकै कमजोर महशुस गर्नुभएको छ’, ट्विटमा लेखिएको छ । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएपछि उनलाई यसै हप्ता अस्पताल र्पुयाइएको थियो ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement