काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको आगामी खेलका लागि राष्ट्रिय टोलीमा राखेको ईमेल पठाएपछि कर्णाली याक्ससबाट एनपीएल खेल्ने उनको योजना तुहिएको हो ।
कर्णाली याक्सले फरहानलाई तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको थियो। तर, पाकिस्तानी खेलाडी उनलाई एनपीएलको तेस्रो संस्करण सुरू हुने दिनमै कर्णाली याक्सले टिकट काटिदिएर फिर्ता पठाउन लागेको हो ।
यसअघि एनपीएल खेल्ने अनुमति दिन पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको कुरा बाहिरिएको थियो । तर पीसीबीले राष्ट्रिय टोलीमा बोलाएको इमेल आएपछि उनी फर्किन लागेका हुन् ।
फराहनले कर्णाली व्यवस्थापनलाई बीचमा बरू देशका लागि खेलेर आउन सक्ने बताएका छन्। यस्तो भनेपछि उनलाई कर्णाली याक्स व्यवस्थापनले टिकट काटिदिएर फिर्ता पठाउन लागेको हो । फराहनलाई टिकट काटिदिएर फिर्ता उठाउन लागिएको कर्णाली याक्सका मालिकमध्ये एक गृहेन्द्र घिमिरले पुष्टि गरेका छन्।
कर्णाली याक्समा पाकिस्तानका दुई खेलाडी अनुबन्धित थिए । अर्का ३० वर्षीय हुसैन तलात भने खेल्ने सम्भावना छ। अलराउन्डर उनका लागि कर्णालीले २५ हजार डलर तिर्ने भएको छ। उनले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन्।
२५ हजार डलरको विवाद
पीसीबीले मागेको २५ हजार अमेरिकी डलर तिर्ने विषयमा कर्णाली याक्स र खेलाडी पक्षबीच सहमति बनेको थिएन। फ्रेन्चाइज र खेलाडीका एजेन्टले आधा–आधा रकम व्यहोर्ने प्रस्ताव अघि सारिएको थियो । हुसैनको हकमा त्यसमै सहमति भएको हो ।
यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र पाकिस्तानस्थित नेपाली दूतावासले पनि समाधान पहल गरेका थिए। अब कर्णाली याक्सलाई फरहानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ।
पाकिस्तानले घरेलु मैदानमा इंग्ल्याण्ड र श्रीलंकासँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेलिरहेको छ। पाकिस्तानको टी–२० टोलीका कप्तान फरहानलाई यसअघि उक्त शृङ्खलाका लागि सार्वजनिक गरिएको एकदिवसीय टोलीमा समावेश गरिएको थिएन।
तर, श्रीलंकाविरुद्धको आगामी खेलका लागि टोलीमा समावेश गरिएको भन्दै पीसीबीबाट इमेल आएको बताइएको छ। यद्यपि, टोलीमा गरिएको हेरफेरबारे पीसीबीले औपचारिक घोषणा गरेको छैन। त्यसैले उनलाई राष्ट्रिय टोलीमा बोलाइएको पुष्टि भएको छैन।
फरहान फर्किएपछि कर्णाली याक्सले उनको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्नुपर्ने बाध्यता भएको छ।
तलात अहिले पाकिस्तानी राष्ट्रिय टोलीमा छैनन्। उनले पाकिस्तानबाट एक टेस्ट, १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।


प्रतिक्रिया