पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– ‘चीनको सिपेक परियोजनाबाट नेपाललाई पनि लाभ छ’


काठमाडौं – नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो ।

प्रधानमन्त्री अब्बासीले पटकपटक राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ गर्न सफल भएको भन्दै नेपाली नेतृत्वको तारिफ गरे । उनले भारत र पाकिस्तानको तनाबबीच रोकिएको सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमै हुने र सहज परिस्थिति बन्ने विश्वास पनि व्यक्त गरे ।

नेपालले यसका लागि प्रयास गरोस् भन्ने अपेक्षा पनि घुमाउरो ढंगले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका उनलाई सैनिक मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

उनले सैनिक सलामीपछि होटल याक एन्ड यतिमा नेपाली प्रतिनिधिमण्डलसँग औपचारिक तथा प्रधानमन्त्री ओलीसँग करिब दश मिनेट एकान्त वार्ता गरेका थिए ।

अब्बासीले मंगलबार बिहान सार्क सचिवालयमा रुख रोप्ने, त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर ११ बजे पाकिस्तान हवाई सेनाको जहाजमा स्वदेश फर्किने कार्यक्रम छ ।

बधाई दिन आएँ, खुसी छु
नेपाल राजनीतिक स्थायित्ववतर्फ गएकोमा म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई बधाई दिन आएको हुँ । यो मेरो प्रमुख एजेन्डा थियो । म पहिले नेपाल आए पनि यो मेरो पहिलो राजनीतिक भ्रमण हो । धेरै सकारात्मक राजनीतिक विकासक्रम देखेर म खुसी भएको छु ।

म नेपालका बारेमा आशावादी छु । राजनीतिक प्रगति साँच्चै सकारात्मक रूपमा अघिबढेको छ । राजनीतिक स्थायित्व र लोकतन्त्र नै यसमा सबैभन्दा महत्वपूर्ण विषय रहेछ । व्यक्तिगत रूपमा खुसी छु कि यहाँ लोकतन्त्र संस्थागत हुँदैछ । धेरै विषयहरू समाधान भइरहेका छन्, हुँदैछन् । छोटो समयमा तीनवटा चुनाव सम्पन्न हुनु र ८० प्रतिशतभन्दा बढी मतदान हुनु जनताको लोकतन्त्रप्रतिको अगाध आस्था र विश्वासको परावर्तन हो ।

पाकिस्तान नेपालको प्रगति र विकासका लागि जुनसुकै र सामथ्र्यले भ्याएसम्म जेसुकै सहयोग गर्न कुनै पनि वेला उपलब्ध छ भन्ने विषय प्रधानमन्त्रीलाई भनेको छु । यसका लागि सार्क फोरम छ, दुईपक्षीय फोरम छ । दुईदेशबीच समझदारी विस्तार गर्ने भ्रमण भएकाले अब दुईदेशबीच बढीभन्दा बढी सहकार्य हुनेछ । मेरो भ्रमणलाई यही रूपमा बुझ्नुपर्छ ।

सार्कसम्मेलन पाकिस्तानमै हुन्छ, वातावरण बन्दैछ
आज सार्कको नेतृत्व नेपालले गरेको छ । २०१४ मा नेपालले सार्कको १८ औँ सम्मेलन गरेको थियो, त्यसपछि हुन सकेको छैन । अब पुनः यसका लागि पहलकदमी लिने समय आएको छ । सार्कको सम्मेलन हुन नसक्नु राम्रो होइन ।

दुई देशबीच (भारत र पाकिस्तान) इस्यु हुन सक्छ, तर क्षेत्रीय विषयहरू पनि त छन् नि, त्यसमा छलफल हुनुपर्छ । नेपालसहित सबै मुलुकले सार्क प्रक्रिया अघि बढाउन प्रयास गर्नुपर्छ । सार्कको विशेषता हो, सकारात्मकता । यो जगमा टेकेर सार्कलाई अघि बढाउनुको विकल्प छैन ।

सार्क शिखर सम्मेलन पाकिस्तानमै हुन्छ, वातावरण बन्नेछ । म आशावादी छु । पाकिस्तान बाहिर सम्मेलन गर्नुपर्छ भन्ने प्रस्ताव कसैको पनि छैन । हामी सम्मेलन गर्न आतुर छौँ । बाहिर गर्ने विषयमा अहिले हामी सोच्न पनि सक्दैनौँ ।

नेपालसँग सहकार्य गर्न तयार
प्रधानमन्त्री केपी शर्मा ओली र मबीच कुनै विशेष परियोजनाहरूमा सहकार्य गर्ने विषयमा ठोस छलफल भएन । तर, सहकार्यका सम्भावित क्षेत्रबारे चर्चा गरेका छौँ । एकअर्काका अनुभव राखेका छौँ ।

नेपाल र पाकिस्तानको संसद्का बीचमा अनुभव आदनप्रदान गर्ने संयन्त्र बनाउन हामी सहमत भयौँ । किनभने लोकतन्त्र संस्थागत गर्ने विषयमा हामी एकैठाउँमा छौँ । नेपाली विद्यार्थीलाई पाकिस्तानका शिक्षण संस्थामा दिने छात्रवृद्धि दोब्बर गरेको जानकारी गराएको छु । थप बढाउन हामी सकारात्मक छौँ ।

निजी विमानमार्फत् सीधा उडान
नेपाल र पाकिस्तानबीच सीधा उडान सुचारु गर्ने विषयमा पनि छलफल भयो । तर, पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स संकटमा छ ।

आफैँ संकटमा परेको यो भन्दा पनि बजार खोजेर निजी एयरलाइन्सहरूले काठमाडौं पाकिस्तान सीधा उडान भर्न सक्ने अवस्था हेर्नुपर्छ भन्नेमा हामी छौँ । यो विषयमा हामीले छलफल गरेका छौँ । बजार पनि खोज्न सकिन्छ । यो मानवीय इस्यु पनि हो । नेपाल सरकारसँग यसबारे हामी थप छलफल गर्दै जानेछौँ ।

आतंकवादसँग यसरी जुध्दैछौँ
मैले पाकिस्तानले सामना गरिरहेको आतंकवादको विषयमा पनि कुरा राखेँ । पाकिस्तानले आतंकवादविरुद्ध अप्ठ्यारो र महत्वकांक्षी युद्ध लडिरहेको छ । हामीले पछिल्लो पाँच वर्षमा ६५ सय सैनिक र २५ हजारजति गैरसैनिक नागरिक र प्रहरी गुमाएका छौँ ।

तपाईंहरूले सीएनएन वा अन्य मिडियामा देख्नुभएको पाकिस्तानको दृष्य सही होइन । हामीले भनिरहेका छौँ कि पाकिस्तानमै आएर हेर्नुस्, हामीले आतंकवादविरुद्ध कति काम गरिरहेका छौँ । यसमा हामीले सफलता हासिल गरिरहेका छौँ ।

पाकिस्तान अहिले सुरक्षित छ । हाम्रो कराँची शहर पाँच वर्षअघि विश्वका अत्यन्त १० खराब शहरमा गनिन्थ्यो, अहिले टप १०० औँमा पनि पर्दैन । सरकार र जनताको सहकार्यको प्रतिफलले यो सम्भ भएको हो । अहिले हाम्रो संसदले दोस्रो पूर्ण कार्यकाल पूरा गर्दैछ । यसबारेमा हामीले प्रधानमन्त्रीसँग छलफल गरेका छौँ ।

विपक्षी दलका नेतालाई धेरै समय
मैले रात्रिभोजमा विभिन्न राजनीतिक दलका नेतासँग कुराकानी गरेँ । सबैभन्दा बढी समय विपक्षी दलका नेतासँग कुराकानीमा खर्चिएँ । हामी पाकिस्तानमा लामो विपक्षमा बसेकाले होला सत्ताधारीभन्दा विपक्षी दलसँग बढी समय व्यतित गरेँ (हाँसो ) । म विपक्षमा बस्न बानी परेको छु । (उनको विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छैन ।)

मेरो भ्रमण : सकृय कूटनीतिक पहलकदमी
सार्क एउटा मञ्च मात्र हो, तर मित्रमुलुकहरूसँग सम्बन्ध सुदृढ गर्ने हामीसँग धेरै दुईपक्षीय मञ्चहरू छन् जसलाई सक्रिय गर्नुपर्छ । पाकिस्तानले आफ्ना मित्रहरूसँग सम्बन्ध सुदृढ गर्न सक्रिय कूटनीतिक पहल लिएको छ ।

नेपाल र पाकिस्तानबीच सधैँ सुमधुर सम्बन्ध छ, भविश्यमा यो अझ सुदृढ हुनेछ । आजको कुराकानीबाट म आशावादी छु । व्यापार, जनस्तरको सम्बन्ध, पर्यटनमा हामीले सहकार्य गर्न सक्ने प्रश्स्त ठाउँ छन् । धेरै काम गर्न सक्छौँ ।

उदाहरणका लागि, हामी इस्लामावादबाट कराँची पुग्न २ घण्टा लाग्छ । तर म इस्लामाबादबाट १ घण्टा ४० मिनेटमा काठमाडौं आइपुगेँ । भौतिक रूपमा हामी नजिक छौँ । हामीसँग बीचमा भारत छ, पहाडहरू छन् । तर, जनस्तरको सम्पर्क बढेसँगै यी समस्या समाधान हुन्छन् ।

सिपेकबाट नेपाललाई पनि लाभ
मैले पाकिस्तानमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) परियोजनाका बारेमा प्रधानमन्त्रीलाई शेयर गरेँ । सिपेक चिनियाँ बीआरआईको सबैभन्दा सदृष्य परियोजना हो । नेपाल पनि बीआरआईमा सामेल छ ।

उक्त परियोजनापछि पाकिस्तान मात्र होइन, समग्र क्षेत्रमा नै कनेक्टिभिटी कसरी बढाउन सकिन्छ भन्नेमा हामीले छलफल गरेका छौँ । यो प्रक्रियाको नेपाल पनि एउटा भाग हुनसक्छ भन्ने कुरा राखेँ ।

संसारलाई खुला गर्ने परियोजना हो । पश्चिम एशियासँग सबैभन्दा सहज एक्सेस हामी प्रदान गर्न सक्छौँ, पश्चिम चीनलाई पनि जोड्न सक्छौँ । बजार, रेल, रोडलाई जोड्न सक्छौँ । पश्चिम एसिया र युरोप जोड्ने परियोजना हो सिपेक, जसले यो क्षेत्रको भविश्य चम्काइदिन सक्छ ।

सिपेक दक्षिण एशियाका लागि गियर चेन्जर परियोजना हुनसक्छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले संसार बदल्ने सपनासहित यो अवधारणा ल्याएका हुन् । संसारले यसबाट फाइदा लिनसक्छ । नेपालको भौगोलिक अवस्थिति फरक छ, तर उसले फाइदा लिनसक्छ ।

सिपेक र अन्य सामाजिक परिवर्तनले हाम्रो आर्थिक वृद्धिदरमा सुधार आएको छ । विगतको ५ दशमलव ४ प्रतिशत वृद्धिबाट यसवर्ष ६ प्रतिशत वृद्धिदर कायम गर्न सफल भएका छौँ र यसलाई कायम राख्ने हाम्रो अठोट छ ।

हाम्रो आधारभूत समस्या लोडसेडिङ थियो, यो समाधान हुँदैछ । २०३० मा यो समस्या सम्पूर्ण रूपमा समाधान हुनेछ । ग्यासको अभावको समस्या समाधान भएको छ ।

६ लेनको १७ सय किलोमिटर सडक बनाएका छौँ, विमानस्थल, बन्दरगाह बनिरहेको छ । यो राजनीतिक स्थायित्व र लोकतन्त्रको प्रतिफल हो । राजनीतिक प्रक्रिया र नीतिको स्थायित्वले यो सम्भव बनाएको हो ।

पाकिस्तानमा हामी के गर्दैछौँ ?
हामीले २०३० सम्म ऊर्जा, ग्यासको समस्या समाधान गर्छौँ भनेका छौँ । आतंकवाददेखि अन्य चुनौतिको सामना गरिरहेका छौँ । सबै चुनौतिलाई सामना गर्दै चुनावमा जाँदैछु ।

म सन्तुष्ट छु कि यो सरकार हरेक क्षेत्रमा सकारात्मक रूपमा अघि बढेको छ । राजनीतिक चुनौति, अदालतसँग सम्बन्धित चुनौतिहरू माझ हामी काम गरिरहेका छौँ । संसद, अदालत, सिभिल मिलिटरी रिलेसन्स एउटा स्पेशमा छन् ।

लोकतन्त्र संस्थागत भइरहेको छ । मैले गत वर्ष जुलाईमा नेतृत्व लिएयता सबै विषय सिस्टममा चलिरहेको छ र राजनीतिक स्थिरतातिर परिस्थिति गएको छ । जुनमा चुनाव हुन्छ र लोकतन्त्र थप संस्थागत हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement