काठमाण्डु– काठमाण्डुबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट कीर्तिपुर नगरपालिका–९ पागादोबाटो निवासी ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीका क्रममा अनिल देउलालाई ५० बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल सहित पक्राउ गरेको हो। प्रहरीले उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, देउला बस्दै आएको कोठामा खानतलासी गर्दा डाइजापाम तथा फेनेरागन ट्याब्लेट १ हजार १८८ वटा, ट्रामाडोल ३ हजार ७७० वटा र पोलेन १५० वटा बरामद भएको छ। सोही क्रममा सुमित्रा राईलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले कोठाबाट १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र ३ थान मोबाइल सेट समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध, नगद, स्कुटर तथा मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।




प्रतिक्रिया