काठमाण्डु –कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको हो ।
नागरिकता प्रकरणमा ९ दिनको हिरासतपछि सिरोहिया बुधबार हाजिरी जमानीमा छुटेका थिए । त्यसको लगत्तै उनलाई नागरिकता दिने अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
पक्राउ पूर्जीबारे धनुषा प्रशासन, धनुषा प्रहरी र धनुषा जिल्ला अदालतले आधिकारिक रूपमा जानकारी दिएका छैनन् ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पक्राउ पूर्जीबारे आफूहरू बोल्न नमिल्ने बताए ।
अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दियो ।
सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग पनि बयान लिएको थियो । अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको स्रोतले बतायो ।
सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो।




प्रतिक्रिया