मोरङको सीमावर्ती क्षेत्रमा गोली चल्याे, गाँजासहित दुई भारतीय पक्राउ

मोरङको सीमावर्ती क्षेत्रमा गोली चल्याे, गाँजासहित दुई भारतीय पक्राउ


काठमाण्डु– मोरङको सीमावर्ती क्षेत्रमा गोली चलेको छ । गए राति गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

मोरङको जहदा गाउँपालिका–२ तारिगामास्थित नेपाल–भारत सीमा नजिक बाट प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

एक राउन्ड हवाई फायर गरी ३ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दियो ।

पक्राउ पर्नेमा भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्

नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको टोलीले राति करिब ११ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिने खोजेको थियो।

टाउकोमा गाँजाको बोरा बोकेर जाँदै गरेको अवस्थामा प्रहरीलाई देख्ने वितिक्कै गाँजाका बोराहरू फालेर भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको थियो।

दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।