वीरगन्ज – बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन् । डेढ दशकअघिको फैसलालाई कार्यान्वयन गर्दै बारा जिल्ला अदालतले आइतबार गाउँपालिका अध्यक्ष राउतलाई जेल पठाएको हो ।
२०६२ सालमा भएको सवारी ज्यान मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध २९ दिन कैद र दुई हजार जरिवाना फैसला गरेको थियो । सो फैसला अनुसार कैद भुक्तान नगरी बसेका राउतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।
अदालतले पुरानो फैसलालाई कार्यान्यवन गर्ने क्रममा राउतलाई कारागार चलान गर्न आदेश दिएको हो । आदेशसंगै प्रहरीले राउतलाई वीरगन्ज कारागार पठाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।




प्रतिक्रिया