सरकारद्वारा ६५ लाखसहित पदक विजेता पलेसालाई सम्मान

सरकारद्वारा ६५ लाखसहित पदक विजेता पलेसालाई सम्मान


काठमाण्डु – सरकारले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरेका हुन् । सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित प्रधानमन्त्री ओलीले सम्मान गरे ।

युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए ।

ओलीले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए । कार्यक्रममा युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल तेक्वान्दो संघका पदाधिकारीलगायत सहभागी थिए ।