पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई प्रचण्डले गरे सम्मान

पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई प्रचण्डले गरे सम्मान


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने जोड दिएका छन् ।

पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई आज आफनै निवास खुलमटारमा सम्मान गर्दै अध्यक्ष प्रचण्डले पलेशाको जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताएका हुन् ।

खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवद्र्धन गर्ने उनले बताए ।

पलेशाको परिवारलाई विशेष बधाई दिंदै उनले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताए । अध्यक्ष प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा पुरस्कारमा कर नलगाई ६५ लाख रुपैयाँ नै दिने घोषणा गरेका छन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङका अनुसार ओलम्पिकमा पाइला चालेको दशकपछि पलेसाले नयाँ इतिहास रचेको बताउँदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको छ ।

सदस्यसचिव घिसिङले मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै एसियाली खेलकुदका लागि तयारी सुरु भइसकेको बताए ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा गत अगष्ट ३० मा भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् ।