कलाकार चम्सुरीलाई मिर्गौला दिन ५ जना आफन्त तयार


काठमाण्डु – हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन । टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर हाल महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन ।

पाँच वर्षअघि नै उनको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नदिएको बताइएको छ ।कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन ।

उनको यस अभिव्यक्तिमा उनका सुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गर्दै मिर्गौला दिन आफुहरु तयार रहेको बताएका थिए । तर, नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ । सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नका लागि ५ जना आफन्त इच्छुक रहेका बताइएको छ । यदि म्याच भएमा उनको छिट्टै नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।

पल्पसाको प्रत्यारोपणलाई पहिलो प्राथमिकतामा राखिने डाक्टरले बताएका छन् । पल्पसाले पहिलोपटक अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलालगायत अन्य कलाकारहरुलाई आफ्नो अवस्थाबारे सुनाएकी थिइन । त्यसपछि दिपाले भेट्न गएको फोटो फेसबुकमा राखेर पल्पसाको अवस्थाबारे जानकारी दिइन । त्यसलगत्तै उनको दुबै मिर्गौला फेल भएको खबर बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement