काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय सवारी साधनमा बढाइएको भन्सार घटाउन माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारको यो कदमको विरोध जनाएकी हुन् ।
सांसद भुसालले चकलेटी तर्क गरेर फाइदा नभएको बताउँदै विद्युतीय गाडीमा बढाइएको कर राष्ट्रको हितमा नरहेको बताइन् ।
‘नेपालमा विद्युत् उत्पादन २ हजार मेगावाट नपुग्दै बिक्रीको नारा सुनेकी छु, विद्युत् बेच्ने होइन अधिकतम खपत गर्ने हो । विद्युत खपत गर्नुको सट्टा अहिले विद्युतीय गाडीमा करवृद्धि गरिएको छ । यसलाई राष्ट्रघाती भनौं कि नभनौं तर राष्टविरोधी हो । अहिले भएका लाखौं गाडीलाई प्राविधिक रूपमा विद्युतीय बनाउन सकिन्छ । गाडी चार्जिङ स्टेसन खडा गर्दा ५० औं हजारले रोजगारी पाउछन्, यो नगरेर विद्युतीय गाडीमा बढाइएको कर राष्ट्रको हितमा छैन,’ भुसालले भनिन् ।
सांसद भुसालले विद्युत् व्यापार भन्दापनि यसको उपभोग नेपाली जनताले गर्नुपर्ने र सिँचाइ तथा खानेपानीमा निःशुल्क दिनुपर्ने बताइन ।
सांसद भुसालले भनिन्, ‘विद्युत् विकासको आधारभूत पूर्वाधार हो । विद्युत् उत्पादन गर्ने कुरा राज्यले गरोस् र लागत मूल्यबाट बिक्री गरोस् ।’
‘विद्युतलाई नाफा गर्ने विषय बनाइनु हुन्न, अर्थशास्त्रमा बढी उत्पादन गर्दा लागत कम हुन्छ त्यस्तै विद्युत नेपालीले जति बाल्यो त्यति धेरै छूट हुनुपर्छ,’ उनले भनिन् । उनले नेकपाले पार्टीको चुनावी घोषणा पत्रमा बोलेको समाजवादउन्मुख राष्ट्र बनाउने कुरा, कृषि, ऊर्जा र पर्यटनको विकासले मात्र सम्भव हुने बताइन् ।
‘तराई क्षेत्रमा विद्युत् वितरण गर्ने प्रशारण लाइन नेपाल होइन भारतीयको हातमा छ, भोलिको दिनमा विद्युत्को नाकाबन्दी भएर मधेशले दुःख पाउने काम नहोस,’ भुसालले भनिन्, ‘झन जनताले मन नपराएको तथा राष्ट्रको हितमा नभएको एमसीसी कार्यान्वयन गर्ने एजेन्सी पनि मन्त्रालय नबनोस् ।’
तराई–मधेसमा विद्युत वितरणको साँचो भारतको हातमा रहेको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएकी छन् ।
‘अहिलेको विद्युतीय ग्रीडको विकास हेर्दा तराई क्षेत्रमा विद्युत वितरण गर्ने जिम्मा नेपालीको हातमा होइन भारतको हातमा छ । कुनै दिन पेट्रोलको नाकाबन्दी जस्तै विद्युतको पनि नाकाबन्दी गरेर मधेसले दुःख भोग्न नपरोस् । त्यसको पुनर्संरचना गरियोस्,’ उनले भनिन् ।




प्रतिक्रिया