काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघहरु खारेज गर्न माग गरेकी छन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने भन्दै सेना–प्रहरीको श्रीमती संघहरु खारेज गर्न माग गरेकी हुन् ।
उनले सो संघहरु दासीहरुको संगठन रहेको समेत आरोप लगाइन् । ‘निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलाले दासी बनाउनका लागि श्रीमती संघ खोलेका हुन् । यस्ता संगठनहरु खारेज गर्नुपर्छ ।’
उनले प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु पनि गणतन्त्रको उपहास रहेको बताइन् ।
उनले भनिन्, ‘देशको प्रमुख अहिले विद्यादेवी भण्डारी हुन्, उनी प्रथम महिला हुन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी श्रीमतीलाई प्रथम महिलाको रुपमा उभ्याउने गरेका छन् ।’
विभिन्न आन्दोलनबाट प्राप्त महिलाको अधिकारलाई सुनिश्चित गर्न माग गर्दै उनले कम्तीमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिइन् ।




प्रतिक्रिया