प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् ।किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताएकी हुन् ।

‘आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ,’ उनले भनिन् ।

मन्त्री भुसालले आगामी आर्थिक वर्षको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाइन् । उनले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताइन् ।

मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताइन । ‘अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,’ उनले भनिन् ।

जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ । सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

संस्थाका ललितपुर जिल्ला अध्यक्ष रामबहादुर खख्खिम लिम्बूले संस्थाका गतिविधिबारे जानकारी गराए । कार्यक्रममा बिजुली बत्ती भूमिगत गर्न तथा खानेपानीको समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गरिएको थियो ।

सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका–१४ स्थित लिम्बू सङ्ग्रहालय परिसरमा निर्मित अतिथि गृहको उद्घाटन समेत गरेकी थिइन् ।