काभ्रे – ‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।
काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् ।
काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कु–लक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ । नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो ।’
उनले पनौती इतिहास, संस्कृति, धर्मका दृष्टिले महत्त्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको जानकारी मेयर भण्डारीले दिए । उनले भने, १५औं शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा ३ नदीहरू भेट हुन्छन् । रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’
नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णे पनि पनौतीबाटै सुरु भएको उनले बताए ।
ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ यसलाई चिनाउने योजनामा काम गरिरहेको मेयर भण्डारीले जानकारी दिए ।
पनौती नगरपालिका–५ का वडाध्यक्ष भीमप्रसाद आचार्यले पनौती पर्यटकीय स्थल मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए । ‘पन्ध्रौं–सोह्रौं शताब्दीतिर लेखिएको मानिने काठमाण्डु उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्य अनुसार १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौं नम्बरमा पर्छ । यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ,’ उनले भने ।
कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए । पुराना ऐतिहासिक र पुरातात्मिक संरचनाहरू पनि रहेको उनले सुनाए । ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि हो । कु–लक्षण होइन, पनौती त जीवन र धर्मसँग सम्बन्धित छ,’ कर्मचार्यले भने ।
पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए ।
स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्त्व त छँदैछ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ,’ थापाले भने ।
कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरू पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक (लोल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरिपरि), वर्ड वाचिङ, योग रिट्रीट, सामुदायिक र निजी होमस्टे, तामा सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमणका लागि पनौती उपयुक्त गन्तव्य हो ।
पनौती नगर पुग्न काठमाण्डुबाट मूलतः २ बाटो छन् । साँगाबाट बनेपा हुँदै जाँदा ३२ किलोमिटर र ललितपुरको लुभू–लाकुरी भञ्ज्याङ हुँदै जाँदा मात्र २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहक छैन । पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।





प्रतिक्रिया