काठमाण्डु – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै गभर्नर जस्तो उच्च ओहोदाका व्यक्ति दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेकी हुन् । एमालेको हालै गठित अर्थ योजना विभागमा खोटाङका एम अधिकारी सदस्य रहेको उल्लेख छ ।
एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्नेबारे केही खुलाएको छैन ।
‘उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं’ अध्यक्ष सिंहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै सोहीविरुद्ध अखिल क्रान्तिकारीले आज ४ बजे माइतिघरमा प्रदर्शन गर्ने भएको छ ।





प्रतिक्रिया