काठमाण्डु-पाँचथरको फालेलुङ– ५, प्राङबुङको डाँडागाँउमा विस्फोटक पदार्थ पड्किएर दुई बच्चाको मृत्यु भएको छ ।
हिजो करिब साढे ३ बजेतिर चर्को आवाजमा विष्फोट भयो । उक्त विस्फोटमा कलिला नानीहरू परे । विस्फोट कसरी भयो, कसैलाई तत्काल जानकारी भएन ।
दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए ।
विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ ।
पवनकै घरमा उनीहरूका साथी दिप्सन राई पनि भेला भए । पवनका बुबा ज्ञानबहादुर राई ज्याला मजदुरी गर्छन् । उनी काम गर्न पाँचथरको सदरमुकाम फिदिम झरेका छन् । बिहीबार केटाकेटी घरमा भेला भएपछि पवनकी आमा बारीमा काम गर्न गइन् ।
खेल्ने क्रममा उनीहरूले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए । वडाध्यक्ष भरत खपांंगीले भने, ‘बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोराछोरीकै मृत्यु भयो । पवन र दिप्सन राई घाइते भएका छन् ।’
घाइतेमध्ये तीन जनालाई ४२ किलोमिटर टाढा रहेको पाँचथर अस्पताल पुर्याइयो । दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा पनि उपचार सम्भव भएन । त्यसपछि उनीहरूलाई बीएन्डसी अस्पताल झापा रेफर गरियो ।
उपचारका लागि झापा लैजाँदै गर्दा प्रिन्साको बाटैमा मृत्यु भयो । दिप्सनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्यो ।
विस्फोटमा परि घाइते भएका पवन राईले अनौठो वस्तु फेला पारेपछि त्यसलाई फुटाउन खोजे । ढुङ्गाले हान्दा पनि नफुटेपछि उनीहरूले हतौडाले हाने । हतौडा दिप्सनले हानेका थिए । उनको छेउमै थिइन उनकी बहिनी ।
हतौडाले अनौठो बस्तुमा हान्ने दिप्सन र उनकी बहिनी प्रिन्साको मृत्यु भएको छ । पवन र दिप्सन घाइते भएका छन् ।
बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँ स्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार आएका छन् ।
व्यापारका लागि आइतराज फिदिम आएपछि खाली भएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुंगले बताए ।
पाँचथरको फालेलुंगमा विस्फोट भएको बम द्वन्द्वकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । विस्फोटक भएको बम घरमै बनाइएको हो ।
यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले सकेटहरू प्रयोग गरेर घरमा बनाएको ग्रिनेड भएको बताए । उनले द्वन्द्वका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्वन्द्वकालकै विस्फोटक भएको बताए । ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया