काठमाण्डु-पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा अन्य दुईजना घाइते भएका छन् ।
फालेलुङ गाउँपालिका वडा नम्बर– ५ डाँडागाउँमा हिजो विस्फोटक पदार्थ पड्किँएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये एकै घरका दुईजना बालिबालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।
अर्को घरका दुईजना बालबालिका घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।
सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा मृत्यु भएको हो । विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि झापाको बीएण्डसी अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले जानकारी दिए ।
घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो ।
विस्फोटमा स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन् । घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ । प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । तर नेपाली सेनाको टोलीले त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यस ठाउँमा अझै केही विस्फोटक पदार्थ भेटिएको छ ।
त्यो विस्फोटक पदार्थ त्यहाँ कसले र किन राखेको थियो, खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।




प्रतिक्रिया