काठमाण्डु – रौतहटको विभिन्न स्थानीय तहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी सङ्कट निम्त्याएको छ। यहाँ धाराहरू सुक्दै गएपछि स्थानीयले पानीको चरम अभाव झेलिरहेका छन् ।
सङ्कटका बेला चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालको सहकार्यमा निःशुल्क शुद्ध पानी वितरण कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमको पहिलो चरणमा चन्द्रपुर–२ अन्तर्गतको जोगी टोलमा शुद्ध पानी वितरण सुरु गरिएको हो। जोगी टोलका ३० भन्दा बढी घरपरिवार स्थानीय जलस्रोतबाट पूर्णतः वञ्चित भएकाले ती परिवारलाई प्राथमिकतामा राखी शुद्ध पानी वितरण गरिएको ग्रामीण विकास केन्द्र नेपालकी फिल्ड सुपरभाइजर ज्योति फुयाँलले जानकारी दिइन्।
नगरप्रमुख सञ्जय कुमार काफ्लेको विशेष पहलमा सुरु गरिएको यो अभियान अक्सफाम नेपाल तथा आरडीसी नेपालको संयुक्त साझेदारीमा (पूर्वानुमानमा आधारित आपतकालीन प्रतिकार्य परियोजना)अन्तर्गत सञ्चालन गरिएको हो।
जोगी टोलमा सफल परीक्षण वितरणपछि कार्यक्रमलाई वडाभरिका अन्य सङ्कटग्रस्त टोलहरूमा विस्तार गर्ने योजना बनाइएको छ। कार्यक्रम संयोजक चिरञ्जीवी महतोका अनुसार आगामी दिनमा थारुटोल, बलम्पाकी टोल, सिमनी टोल, नर्सरी टोल, कार्की टोल, कलटोल, रैया टोल, सिरानटोल र कछरिया टोलमा पनि शुद्ध पानी वितरण गरिनेछ। ती टोलहरूमा हजार लिटर क्षमताका पानी ट्याङ्कीहरू राखी नियमित रूपमा पानी आपूर्ति गरिनेछ।




प्रतिक्रिया