यी क्षेत्रमा साँझ मेघ गर्जनसहित वर्षा हुने


काठमाडौं – आज (आइतबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो ३–४ बजेपछि पूर्वका तराई–पहाड दुवै तथा मध्य र पश्चिमका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने संकेत देखिएको महाशाखाले जनाएको छ ।

विराटनगर, धनकुटालगायतका क्षेत्रमा हावाहुरी आउने सम्भावना देखिको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

‘पूर्वका एकरदुई स्थानमा हावाहुरीको सम्भावना छ,’ उनले भने, ‘हावाहुरी भनेपछि केही न केही त क्षति गर्ला तर त्यस्तो ठूलो किसिमको आउने संकेत छैन ।’

उनका अनुसार दिउँसोपछि काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । तर अहिलेको मौसमी प्रणालीअनुसार खण्डखण्डमा वर्षा हुने भएकाले उपत्यकाभित्रकै कतिपय ठाउँमा वर्षा हुने र कतिपय स्थानमा नहुने पनि हुनसक्ने वरिष्ठ मौसमविद् पौडेलेको भनाइ छ ।

उनका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका पूरै भूभाग तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने कतै पानी परेको छैन ।

अहिलेको मौसम बदली पश्चिमी वायुको प्रभाव भएको मौसमविद् पौडेलले बताए । पूर्वमा भने अलि अलि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement