टीभीको अन्तर्वार्ता युटुवमा हेर्न थाले, रेडियो र टीभीको युगबाट अघि बढ्नुपर्छः रघुजी पन्त

टीभीको अन्तर्वार्ता युटुवमा हेर्न थाले, रेडियो र टीभीको युगबाट अघि बढ्नुपर्छः रघुजी पन्त


काठमाण्डु- नेकपा एमालेका सांसद रघुजी पन्तले सार्वजनिक सेवा प्रशारण विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन नगरेको बताएका छन् ।

सोमवार सार्वजनिक प्रसारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

‘रेडियो र टीभीको युगबाट हामी अघि बढ्नुपर्छ, आजभोलि टीभीको अन्तर्वार्ता युटुवमा हेर्छन् । अहिले टीभी, रेडियो, पत्रिकाभन्दा डिजिटल मिडिया हेर्छन्। यो विधेयक चार वर्षअघि आएको हो, यो विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन गरेन । विश्वसँगै नेपालमा पनि डिजिटल मिडिया आइसक्यो ।’, उनले भने ।

उनले आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउन आग्रह गरे । त्यस्तै उनले आर्थिक मन्दीको मारमा मिडिया परेको बताए । विज्ञापन घट्दा मिडिया समस्यामा परेको उनको भनाइ छ ।

‘यहाँ भएका केही पत्रकारबाहेक अधिकांशले महिनौ तलब पाउनुभएको छैन, साथीहरूले नभने पनि । विज्ञापनको मारमा सञ्चारमाध्यम छ । अनलाइनमा पनि विज्ञापन छैन र फेसबुकमा गएको छ । सरकारले यसलाई समेटेर ऐन बनाउनुपर्छ ।’, पन्तले भने ।